इन्द्रबहादुर बानियाँ बागमती प्रदेशकाे नयाँ मुख्यमन्त्री नियुक्त

इन्द्रबहादुर बानियाँ बागमती प्रदेशकाे नयाँ मुख्यमन्त्री नियुक्त

हेटौंडा । नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशका छैठौं मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बानियाँले नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदसहित कुल ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।

मकवानपुर निवासी बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत हुन्। उनले अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए तर दलको नेताको चुनावमा १३ पुस २०७९ मा बहादुर सिंह लामासँग पराजित भएका थिए।

तर साढे दुई वर्षपछि, बानियाँले लामाविरुद्ध २१ सांसदको समर्थनमा अविश्वास प्रस्ताव दर्ता गरे। १३ साउनमा भएको मतविभाजनमा २२ मतसहित प्रस्ताव पारित भएपछि लामाले दल नेतृत्व गुमाए। त्यसपछि १४ साउनमा बानियाँ पुनः दलको नेता निर्वाचित भए र मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।

बागमतीमा एक वर्षअघि कांग्रेस र एमालेबीच २०–२० महिनाको कार्यकाल बाँडफाँडको सहमति भएको थियो। उक्त सहमतिअनुसार बानियाँले अब ८ महिना सरकारको नेतृत्व गरी आगामी फागुनमा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ।

संघीयता कार्यान्वयनअघि उनी केन्द्र सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र पछि गृह राज्यमन्त्री समेत भएका थिए।

इन्द्रबहादुर बानियाँ छैठाैं मुख्यमन्त्री हुन्। यसअघि डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा बागमतीको मुख्यमन्त्री भइसकेका छन्।