

हेटौँडा। बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा दाबी पेस गरेका छन्।
प्रदेश प्रमुख कार्यालयले सोमबार दिउँसो मात्रै संविधानको धारा १६८(२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलबार दिउँसो २ बजेभित्र दाबी पेश गर्न आह्वान गरेपछि केही घण्टामै नेकपा एमालेको समर्थनसहित बानियाँले आफ्नो दाबी दर्ता गराएका हुन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगायतको उपस्थितिमा बानियाँले मुख्यमन्त्री बन्ने दाबी पेश गरेका हुन्। नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनसहित उनले दाबी पेश गरेका हुन्।
यससँगै एमाले–कांग्रेस गठबन्धनको नेतृत्वमा बानियाँ बागमती प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने सुनिश्चितजस्तै भएको छ।