बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन्। उनले पत्रकार सम्मेलन गर्दै पार्टीको निर्णय र लोकतान्त्रिक मान्यता अनुरूप पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

मुख्यमन्त्री लामाले भने, “संवैधानिक रूपमा अझै मुख्यमन्त्रीको हैसियतमा रहे पनि पार्टीभित्रको सहमति, विधि र सभापति शेरबहादुर देउवाको आग्रह अनुसार म राजीनामा दिन्छु।”

लामा नेपाली कांग्रेसका तर्फबाट साउन ८ गते, २०८१ मा मुख्यमन्त्री नियुक्त भएका थिए र भोलिपल्ट साउन ९ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। ३७४ दिनको कार्यकाल पूरा गर्दै उनले आज पद त्याग गरेका हुन्।

यसअघि कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको नेतृत्वमा लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। त्यसपछि उनलाई संसदीय दलको नेताबाट हटाइएको थियो। दलको नेतृत्व गुमेपछि उनीमाथि मुख्यमन्त्री पदबाट हट्न दबाब थपिएको थियो।

लामाको राजीनामासँगै अब इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसको आन्तरिक खिचातानीपछि आएको यो परिवर्तनले प्रदेशको राजनीतिक समीकरणमा फेरबदल ल्याउने अपेक्षा गरिएको छ।