सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण :सभामुख घिमिरेको

सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण :सभामुख घिमिरेको

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनेभा, स्विट्जरल्याण्डमा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागिता उपलब्धिपूर्ण रहेको बताएका छन्।

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा डिजिटल प्रविधि, संसदको पारदर्शिता र भूमिकासम्बन्धी छलफलहरूमा नेपालले सक्रिय सहभागिता जनाएको जानकारी दिए। उनले भने, ‘मैले सम्मेलनमा प्रविधिले संसदलाई पारदर्शी, जनमुखी र प्रभावकारी बनाउने विषयमा धारणा राखें। अबको युगमा संसद केवल कानुन निर्माणको थलो मात्र नभई डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता बन्नुपर्छ भन्नेमा जोड दिएँ।’

सभामुख घिमिरेले सम्मेलनमा विश्व राजनीतिमा देखिएका द्वन्द्व र असमानता समाधान गर्नुपर्ने विषयमा सहभागी सबै देशका सभामुखहरू सहमत भएको जानकारी पनि दिए। उनका अनुसार सम्मेलनका क्रममा विभिन्न मुलुकका संसद प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारी र सहकार्यका विषयमा पनि छलफल भएको थियो।

सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा आयोजना हुने जलवायु सम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका सङ्घ (IPU) का प्रमुखहरूसँग विशेष परामर्श भएको जानकारी दिए। उनले उक्त सम्मेलन संयुक्त रूपमा संघीय संसद र संयुक्त राष्ट्रसंघको सहकार्यमा आयोजना हुने बताए।

सम्मेलनमा सभामुख घिमिरेले नेपालको तर्फबाट “हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?’ शीर्षकमा आयोजित प्यानल डिस्कसनमा विशेष धारणा प्रस्तुत गरेका थिए।