

काठमाडौं । उदयपुरमा गएको २४ घण्टामा देशभरकै सबैभन्दा बढी १३२ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट स्टेशनमा मापन गरिएको यो वर्षा दर हालसम्मको सबैभन्दा उच्च हो।
लगातारको भारी वर्षाले त्रियुगा नदीको गाईघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले डुबान सम्भावित क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। नदी आसपासको तटीय क्षेत्र तथा होचा भूभागमा डुबानको खतरा रहेको छ।
यस्तै, पर्वतको कालीगण्डकी नदी र मोदी बेनी जलमापन केन्द्रहरूमा पनि जलसतह सतर्कता तहको आसपासमा पुगेको छ। विभागले ती क्षेत्रमा बसोबास गर्नेहरूलाई नदी किनार, भिरालो जमिन र पहिरोप्रवण स्थानमा सचेत रहन अपिल गरेको छ।
विभागका अनुसार हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाको तुलनामा केही उत्तरतिर सरकिएकाले वर्षाको तीव्रता बढी देखिएको हो।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागहरूमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
विभागले खासगरी नदी किनार, डुबान र पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दा तथा यात्रीहरूलाई सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र स्थानीय प्रशासनका सूचनामा ध्यान दिन आग्रह गरेको छ।