माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दैछ। साउन १६ गतेदेखि सुरु भएको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव र समग्र राजनीतिक परिस्थतिमाथि स्थायी समिति सदस्यहरू धारणा राख्ने क्रम जारी छ। शनिबारको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले आफ्ना विचार प्रस्तुत गरिसकेका छन्।

आज बाँकी सदस्यहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको छ। प्रत्येक नेतालाई १० देखि १५ मिनेटको समय दिइएको छ। बैठकमा सहभागी नेताहरूले पार्टीभित्र विधि, पद्धति र प्रक्रियाको कडाइका साथ पालना गर्नुपर्ने सुझाव दिएका छन्।

स्थायी समिति बैठकमार्फत माओवादी केन्द्रले आगामी नीति, रणनीति, संगठनात्मक संरचना, र सत्तारूढ दलहरूसँगको सम्बन्धबारे स्पष्ट दिशा तय गर्ने अपेक्षा गरिएको छ।

बैठकको निष्कर्ष र निर्णय सार्वजनिक भएपछि पार्टीको आगामी रणनीतिको खाका स्पष्ट हुने देखिन्छ।