

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिन लागेका छन्। १४ साउनमा भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएका लामाले बढ्दो राजनीतिक दबाबपछि आइतबार राजीनामा दिने भएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाको पहलमा शनिबार भएको छलफलपछि लामा राजीनामा दिन सहमत भएका हुन्। उक्त छलफलमा संसदीय दलका उपनेता रामकृष्ण चित्रकार पनि सहभागी थिए। चित्रकारका अनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा हेटौंडा फर्किए राजीनामा बुझाइनेछ, नभए कार्यालयमै दर्ता गरिनेछ।
लामाले राजीनामा दिने सहमति दुई शर्तमा भएको हो। पहिलो, उनले १४ साउनमा नियुक्त गरेका मन्त्रीहरू— गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई शपथ गराइनुपर्ने। दोस्रो, लामा पक्षसँग सहमतिमा सरकार सञ्चालन गरिने हो।
लामाले बुधवार नै मन्त्रीहरूको सपथ गराउने तयारी गरेका थिए, तर सत्तासाझेदार नेकपा (एमाले) को असहमतिको कारण शपथ रोकिएको थियो। लामाले यसअघि आफू सरकार छाड्न संवैधानिक रूपमा बाध्य नभएको अडान राख्दै आएका थिए।
लामाको राजीनामापछि कांग्रेस संसदीय दलको नेता इन्द्र बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री बन्ने पक्का भएको छ। कांग्रेस र एमालेबीच एक वर्षअघिको पालो नेतृत्व दिने सहमति अनुसार बानियाँले ८ महिना सरकारको नेतृत्व गर्नेछन्। फागुन महिनाबाट एमालेलाई सत्ता हस्तान्तरण गरिने भनिएको छ।
बागमती प्रदेशमा अहिलेसम्म डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, शालिकराम जम्मकट्टेल र बहादुर सिंह लामा गरी पाँच मुख्यमन्त्री भइसकेका छन्। अब इन्द्र बानियाँ छैटौं मुख्यमन्त्री हुनेछन्।
यो राजनीतिक फेरबदलले प्रदेशको सत्ता स्थायित्व, नीति कार्यान्वयन र गठबन्धन सहकार्य कस्तो हुनेछ भन्नेबारे नयाँ बहसको सुरुवात गरेको छ।