विद्या भण्डारीको पक्षमा उभिएका नेतामाथि एमालेको कारबाही तीव्र

विद्या भण्डारीको पक्षमा उभिएका नेतामाथि एमालेको कारबाही तीव्र

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा सक्रिय नेताकार्यकर्तामाथि कारबाही प्रक्रिया तीव्र पारेको छ। पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको आरोपमा एमालेले पार्टीनिकट खेलकुद महासंघका स्थायी कमिटी सदस्यहरू हरिवंश कडरिया, कमलमणि गौतम र हरि बर्तौलालाई कारबाहीको तयारी गर्दै स्पष्टीकरण सोधेको छ।

महासंघले ती तीन नेतालाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको सिफारिस केन्द्रीय अनुशासन आयोगमा पठाएको छ। पार्टीभित्र विद्या भण्डारीको समर्थनमा देखिएको गतिविधिपछि एमाले नेतृत्वले कठोर कदम चाल्दै आएको हो।

यसअघि भण्डारीको पक्षमा खुलेको भन्दै एमालेले राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरिसकेको छ। एमालेले भण्डारीलाई पार्टीको सचिवालय, पोलिट्ब्युरो र केन्द्रीय समितिमा पुनः फर्कन नदिने निर्णय गरिसकेको छ।

१४ असारमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा विद्या भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। त्यसयता पार्टीभित्रको विवाद अझ चर्किएको छ।

पार्टीभित्रको अनुशासन र एकताको सन्देश दिन खोजेको एमाले नेतृत्व अब भण्डारी पक्षधर कार्यकर्तामाथि थप कडाइ गर्ने संकेत देखिएको छ। यसले आगामी दिनमा पार्टीको आन्तरिक सन्तुलन र गुटगत प्रतिस्पर्धालाई नयाँ मोडमा लैजाने अनुमान गरिएको छ।