

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र आधुनिक राष्ट्र बनाउने दिशामा सरकार निरन्तर प्रतिबद्ध रहेको बताएका छन्।
बागमती प्रदेशको पूर्ण खोप घोषणा तथा ‘बागमती डिजिटल हेल्थ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको जीवनस्तर उकास्ने, सुशासन स्थापना गर्ने र समृद्ध मुलुक निर्माण गर्ने सरकारको प्रमुख लक्ष्य भएको उल्लेख गरे।
“हामी जहाँ सुशासन र स्वच्छता छ, त्यस्तो देश बनाउन चाहन्छौं। यहाँका जनतालाई सुखी बनाउन चाहन्छौं,” प्रधानमन्त्री ओलीले भने, “योभन्दा पवित्र उद्देश्य अरू हुन सक्दैन। नेपाललाई समृद्ध र आधुनिक बनाउने दिशामा हामी अघि बढिरहेका छौं।”
प्रधानमन्त्री ओलीले नेपाल अब छिट्टै अल्पविकसित राष्ट्रको सूचीबाट बाहिरिएर विकासशील राष्ट्रमा स्तरोन्नति हुने पनि जानकारी गराए। “हामी अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा अर्को वर्ष स्तरोन्नति हुँदैछौं। आउँदो होइन, अर्को मंसिर ८३ मा नेपाल विकासशील राष्ट्र बन्छ,” उनले प्रष्ट पारे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड-१९ विरुद्धको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको भन्दै बागमती प्रदेशको पूर्ण खोप उपलब्धिलाई सराहनीय उपलब्धि भएको बताए।
साथै, उनले ‘बागमती डिजिटल हेल्थ’ प्रणालीमार्फत स्वास्थ्य सेवा प्रवाह थप प्रभावकारी, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गरे। सो प्रणाली अन्तर्गत प्रत्येक नागरिकको स्वास्थ्य विवरण डिजिटल रूपमा अभिलेख राखिनेछ, जसले सेवाको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
बागमती प्रदेश सरकारले सम्पूर्ण नागरिकलाई कोभिड खोप उपलब्ध गराइसकेको घोषणा गर्दै देशमै पहिलोपटक डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गरेको हो।