समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा मुद्दा

समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा मुद्दा

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिका कोषाध्यक्ष गोविन्दहरि पुडासैनीले समानुपातिक उम्मेदवार छनौटमा ऐन र नियम बाँझिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयोगलाई विपक्षी बनाई दायर रिटमा प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार चयन गर्दा बाँझिएको नियम र निर्देशिकाको व्यवस्था शुन्य गर्न माग गरिएको छ ।

प्रदेश नम्बर तीन बाट नेपाली कांग्रेसको प्रदेशसभा सदस्यको उम्मेदवार समेत रहेका पुडासैनीले प्रदेशसभा सदस्य ऐनको दफा ६ को उपदफा ६ मा समानुपातिक उम्मेदवारहरुको बन्दसुचीबाट नाम चयन गर्दा समानुपातिक समावेशी समुहको यथासंभव क्रमसंख्या मिलाउने भन्ने व्यवस्था भएको तर प्रदेशसभा सदस्य नियमावली–२०७४ को नियम ४१ मा समानुपातिक तर्फको बन्दसुचीबाट समानुपातिक सांसद चयन गर्दा समानुपातिक समावेशी समुहको माथिल्लो क्रमसंख्यामा समावेश नाम नपारी तल्लो क्रमसंख्याको नाम पार्न नमिल्ने उल्लेख भएकोले आफ्नो संवैधानिक अधिकार हनन भएको उल्लेख गरेका छन् ।

रिट निवेदक पुडासैनीले मुद्दाको किनारा नलागेसम्म प्रदेशसभा तर्फको समानुपातिक सुची निर्वाचन आयोगमा बुझाउन समेत रोक लगाउन माग गरेका छन् ।