

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने निर्णय गरेको छ।
बुधवार काठमाडौंमा बसेको पार्टीको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको महासचिव ठाकुरसिंह थारुले जानकारी दिए। नयाँ अध्यक्ष को बनाउने भन्नेबारे छलफल जारी रहेको र चाँडै निर्णय हुने उनले बताए।
श्रेष्ठ पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि स्वास्थ्य कारण देखाउँदै शिव बास्तोलालाई कार्यबाहक अध्यक्ष तोकेको केही समयपछि पार्टीभित्र त्यसप्रति असन्तुष्टि देखिएको थियो। पार्टी संरक्षक रेशम चौधरीसहित अन्य नेताहरूले उक्त निर्णयप्रति असहमति जनाउँदै आएका थिए।
श्रेष्ठले पार्टीको अनुशासन समितिले सोधेको स्पष्टीकरण समयमै नदिएपछि समितिले उनलाई कारबाही सिफारिस गरेको थियो। त्यसैका आधारमा उनलाई अध्यक्ष पदबाट हटाइएको हो।
श्रेष्ठलाई अध्यक्षबाट हटाइएको जानकारी निर्वाचन आयोगलाई पनि दिइएको नाउपाले जनाएको छ।