नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री ओली

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आर्थिक सुधारका सकारात्मक लक्षण देखापर्न थालेको बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्र (एलडिसी) बाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चालु सोह्रौं योजनाका आधारहरू सोही स्तरोन्नतिपछि उत्पन्न अवस्थालाई ध्यानमा राखी तय गरिएको स्पष्ट पारे।

“अहिले आर्थिक सुधारका राम्रा लक्षण देखापर्न थालेका छन्,” प्रधानमन्त्री ओलीले भने, “चालु योजना सामाजिक न्याय, सुशासन र समृद्धिका दुरदृष्टि, लक्ष्य र उद्देश्यका आधारमा अगाडि बढिरहेको छ।”

प्रधानमन्त्री ओलीले चुनाव बाहेकका समयमा विकासका काममा राजनीतिक दलहरूबीच साझा प्रयास आवश्यक रहेको बताए। “सिंगो देश एकजुट भएर कति अगाडि बढ्न सक्छ, मुख्य कुरा त्यो हो,” उनले भने, “प्रतिस्पर्धा चुनावको बेलामा गरौँ, तर अघिपछि विकासमा साझा प्रयास गरौँ, हामी परिवर्तन ल्याउन सक्छौँ।”

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै लगानीमैत्री वातावरण सृजना गर्नेतर्फ सरकार केन्द्रित रहेको बताए। आत्मविश्वास अभिवृद्धिसँगै उत्पादकत्व र उत्पादनमा वृद्धि गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनेतर्फ लागिएको स्पष्ट गरे।

“विश्वास छैन भनेर कतिपय साथीहरूले भन्दै हुनुहुन्छ, तर निजी क्षेत्रसँग सोध्नुस्, उनीहरूलाई थाहा छ—सुधारका संकेत देखिँदैछन्,” प्रधानमन्त्री ओलीको भनाइ थियो।