काठमाडौं । नेपाली सेयर बजार मंगलबार झण्डै ४ वर्षपछि उच्चतम विन्दुमा पुगेको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३०.७६ अंकले उकालो लाग्दै ३००२.०७ विन्दुमा पुगेको हो। कारोबारको क्रममा दिउँसो १२:१६ बजे नेप्से ३०२८ अंकसम्म चढेको थियो।
यो अंक २०७८ साल भदौ १३ यताकै उच्च हो। त्यसअघि भदौ २ गते नेप्सेले हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएको थियो।
आजको दिन १८ अर्ब ५२ करोड रुपैयाँको सेयर कारोबार भयो। यद्यपि यो कारोबार अघिल्लो दिनको १९ अर्ब ३६ करोडको तुलनामा केही कम हो। यसअघिको साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो।
आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो। सबैभन्दा बढी ‘अन्य’ समूह २.५८ प्रतिशतले बढ्यो। बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स १.६९ तथा निर्जीवन बीमा १.१२ प्रतिशतले बढेका छन्।
तर व्यापार, विकास बैंक र फाइनान्स समूह भने क्रमशः ०.२५, ०.३६ र ०.१२ प्रतिशतले घटे।
चार कम्पनीको मूल्य १० प्रतिशतले उकालो लागेको छ—मुक्तिनाथ एग्रो इन्डस्ट्रिज, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त। नयाँ सूचीकरण भएका ट्रेड टावर र सान्भी इनर्जीको मूल्य क्रमशः ८६२.७० र ७६९ रुपैयाँ पुगेको छ।
त्यस्तै, नेपाल वेयरहाउजिङको ८.०६, मायाखोलाको ७.२१ र ग्रिन भेन्चर्सको ७ प्रतिशतले मूल्य वृद्धि भएको छ। समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशतले घट्यो।
आजको धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् रहेका छन्।





