प्रधानमन्त्री सहभागी कार्यक्रममा जाँदै गरेका दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए

प्रधानमन्त्री सहभागी कार्यक्रममा जाँदै गरेका दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री सवार गाडी मंगलबार एकआपसमा ठोक्किएको छ।

कैलालीको चिसापानीमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै गर्दा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी लम्की नजिकै आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राजकुमार सिंहका अनुसार मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडीले मन्त्री पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठक्कर दिएको हो। ठक्करबाट दुबै गाडीमा क्षति भए पनि मानवीय क्षति भने भएको छैन।

दिउँसो सवा १ बजेतिर भएको दुर्घटनामा पाल चढेको गाडीको पछाडिको भाग र सार्की सवार गाडीको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ।

सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका थिए। मन्त्रीद्वय त्यसतर्फ जाँदै गर्दा गाडी एकआपसमा ठोक्किएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।