

काँक्रेविहार । जाजरकोटको भेरी नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ।
भेरी नगरपालिका–१, रिम्नास्थित भेरी रिम्जलमापन केन्द्रबाट प्राप्त पछिल्लो जानकारीअनुसार नदीको बहाव उच्च हुँदै गएको छ। यसरी जलसतह खतराको तह नजिक पुग्न थालेपछि प्रशासनले सतर्कता अपनाउन सूचना जारी गरेको हो।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले नदी किनार आसपासका वासिन्दालाई सतर्क रहन अपिल गर्दै भने, “जलसतह खतराको तह आसपास रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सबैले सतर्कता अपनाउन जरुरी छ। हामीले प्रहरीलाई पनि आवश्यक सतर्कताका लागि खबर गरेका छौं।”
यसैबीच, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि भेरी नदीमा पानीको सतह केही बढेको जनाउँदै सम्भावित जोखिमबाट जोगिन सबैलाई सर्तक रहन आग्रह गरेका छन्।