

काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका पाँच संसदीय समितिको बैठक आज (मंगलबार) बस्ने भएका छन्। सार्वजनिक कार्यतालिकाअनुसार बैठक बस्ने समितिहरूमा अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति छन्।
अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदहरूसँग छलफल गरिने छ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनहरूबारे सांसदहरूसँग राय–विमर्श गरिने कार्यक्रम छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरिनेछ।
सार्वजनिक लेखा समितिको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको उपस्थिति रहनेछ, जसमा सरकारका सबै सचिवहरूसँग समग्र आर्थिक विषयमा छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल हुने कार्यसूची तय भएको छ।