

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाभियोग लगाउनुपर्ने माग गरेकी छन्।
राष्ट्रिय सभाको बैठकमा आइतबार बोल्दै उनले मुलुकमा सुशासनको अभाव रहेको र त्यसले भ्रष्टाचार र अनियमितता मौलाउन सघाएको टिप्पणी गरिन्। उनले राईविरुद्ध महाभियोगको माग गर्दै भनिन्, “वाइडबडी प्रकरणमा संलग्न रहेको देखिएको व्यक्तिमाथि अभियोजन नगर्नु गम्भीर विषय हो। यदि अख्तियारकै प्रमुख स्वच्छ छैनन् भने त्यो संस्थामाथि जनविश्वास कसरी कायम रहन्छ?”
सांसद पन्तले राज्यका प्रमुख अंगहरूप्रति जनविश्वास घट्दो रहेको उल्लेख गर्दै भनिन् “राजनीतिक दलहरूबीच पारस्परिक अविश्वास बढ्दो छ। व्यक्तिहरूबीचको विश्वास हराउँदै गएको छ। सेवा प्रदायक र सेवाग्राहीबीच पनि अबिश्वास गहिरिँदै गएको छ। सेवा सहज ढंगले प्राप्त छैन, टेबुलमुनिबाट कारोबार हुने कुरा सुन्नमा आएको छ।”
उनको भनाइमा अहिलेको प्रमुख समस्या सुशासनको संकट हो, जसले सदाचारको संस्कृति मारेको छ र भ्रष्टाचारलाई प्रोत्साहित गरिरहेको छ।
सांसद पन्तले घुस प्रकरणमा मुछिएका मन्त्रीहरू खुलेआम हिँडिरहेको उल्लेख गर्दै मन्त्रिपरिषद्लाई स्पष्ट रूपमा बोल्न आग्रह गरिन्। “मन्त्रीहरू घुस प्रकरणमा जोडिएर पनि उन्मुक्त घुमिरहेका छन्। मन्त्रीपरिषद् बोल्छ कि चुप लागेर बस्ने?” उनले प्रश्न गरिन्।
वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार प्रमुख आयुक्त राईको निर्णय प्रक्रियामा संलग्नता देखिए पनि उनलाई अभियोजन नगरेकोमा विशेष अदालतले प्रश्न उठाइसकेको छ। त्यसैलाई आधार बनाउँदै सांसद पन्तले राईमाथि महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेकी हुन्।