नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यबाहक बनाइन्

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले शिव बास्तोलालाई कार्यबाहक बनाइन्

काठमाडौं । आन्तरिक विवाद चुलिएको बेला नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्।

पार्टीभित्रको तनावले नयाँ मोड लिएको छ। शुक्रबार पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घन्टाभित्र बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिएका थिए। त्यसको भोलिपल्टै श्रेष्ठले आफू अस्वस्थ भएको जनाउँदै कार्यबाहकको जिम्मेवारी बास्तोलालाई दिएकी हुन्।

श्रेष्ठले पठाएको पत्रमा भनिएको छ, “मेरो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन र महत्त्वपूर्ण निर्णय प्रक्रियामा मेरो भौतिक उपस्थिति सम्भव नदेखिएकोले पार्टीको कार्यप्रवाहमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।”

शिव बास्तोला पोखरा महानगरपालिका–६ निवासी हुन् र पार्टीभित्र वरिष्ठ नेता तथा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।

पार्टीभित्रको यो नेतृत्व हस्तान्तरणले चुलिँदै गएको विवाद थप जटिल हुने वा समाधानतर्फ उन्मुख हुने भन्ने प्रश्न उठेको छ। आगामी दिनमा बास्तोलाको भूमिकाले नागरिक उन्मुक्तिको आन्तरिक शक्ति सन्तुलनमा कस्तो असर पार्छ भन्ने कुराले राजनीतिक वृत्तको चासो बढाएको छ।