

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कहिले जेल पर्छ भन्ने निश्चित नहुने बताएका छन्। आइतबार बालुवाटारमा आयोजित बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाग्रह र प्रतिशोधका आधारमा पनि नेताहरूलाई जेल हालिने गरेको टिप्पणी गरे।
प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गर्दा राजनीतिक दलहरू औपचारिक रूपमा प्रतिबन्धित नभए पनि नेताहरूलाई जेलमा हालिएको स्मरण गरे। उनले राज्यका संयन्त्रहरू प्रयोग गरेर निर्दोषहरूलाई झुटा मुद्दा लगाएर फसाउने काम भएको बताए।
उनले भने, “दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि नेताहरूलाई घरघरमा, जेलमा थुन्ने काम भयो। राज्यका निकायहरूलाई छाडेर आफ्नै मनपरी मान्छेहरूलाई अधिकार दिइयो। उनीहरूले झुटा मुद्दा बनाएर नेताहरूलाई फसाउने काम गरे।”
ओलीले शाही छानबिन आयोगमार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामाथि मुद्दा लगाइएको घटनालाई नाटक (ड्रामा) को संज्ञा दिँदै भने, “ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिन खोज्दै शेरबहादुर देउवाविरुद्ध शाही आयोग बनाएर मुद्दा चलाए। योभन्दा ठूलो ड्रामा के हुन्छ? यस्तो ड्रामालाई के नाम दिने?”
उनको भनाइमा संकेत थियो कि सत्ता र संरचनाको दुरुपयोग गर्दै कुनै पनि नेतामाथि जबरजस्ती मुद्दा लगाइने क्रम रोकिएको छैन, र राजनीतिक बदला लिने प्रवृत्तिले लोकतन्त्रलाई कमजोर बनाउने खतरा रहेको छ। प्रधानमन्त्री ओलीको यो भनाइ पछिल्लो समय मुलुकमा भइरहेको राजनीतिक द्वन्द्व, भ्रष्टाचार अभियोग, र प्रतिशोधका मुद्दासँग पनि जोडेर हेरिएको छ।