अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ। उजुरीकर्ता युवराज सफलले सोमबार प्रमुख राईको भूमिकामाथि प्रश्न उठाउँदै छानबिनको माग गरेका हुन्।

सफलले दर्ता गराएको उजुरीमा राईलाई वाइडबडी जहाज खरिद घोटाला, नेपाल आयल निगमको जग्गा किनबेच प्रकरण र नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै अनुसन्धान गर्न माग गरिएको छ।

यसअघि विशेष अदालतले वाइडबडी प्रकरणमा दिएको फैसलाको पूर्णपाठमा पनि राईको भूमिकामाथि प्रश्न उठाउँदै अख्तियारले ‘चयनमुखी अभियोजन’ गरेको उल्लेख गरिएको थियो। अदालतको उक्त टिप्पणीले राईमाथि थप राजीनामाको दबाव सिर्जना गरेको छ।

यसबाहेक, २०७३ साल वैशाख २ गते तत्कालीन सचिव राईकै अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक बसेर दुई वटै वाइडबडी जहाज खरिदको निर्णय भएको स्पष्ट भए पनि अख्तियारको आरोपपत्रमा त्यसबारे कुनै विवाद नगरेको अदालतले औँल्याएको थियो।

अख्तियारले २०८० साल चैत २२ गते सार्वजनिक गरेको मुद्दामा १ अर्ब ४७ करोड १० लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गरिएको थियो।

प्रमुख आयुक्त राईविरुद्ध अख्तियारमै उजुरी दर्ता हुनु आफैँमा दुर्लभ र गम्भीर घटनाका रूपमा हेरिएको छ। अब यसमा अख्तियारको आगामी प्रतिक्रिया के आउनेछ भन्ने चासो बढेको छ।