कांग्रेस नेता सिटौलाको संकेत : महाधिवेशन २०८३ को दशैंपछि मात्र सम्भव

कांग्रेस नेता सिटौलाको संकेत : महाधिवेशन २०८३ को दशैंपछि मात्र सम्भव

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीको १४औँ महाधिवेशन आगामी २०८३ सालको दशैंअघि नहुने स्पष्ट पारेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले क्रियाशील सदस्यताको समय सीमा कायमै रहेकाले महाधिवेशन दशैंको सेरोफेरोमा मात्रै आयोजना हुने बताएका हुन्।

“२०८३ मंसिरभन्दा पर जाने अवस्था त देखिन्न, तर दशैंभन्दा अगाडि महाधिवेशन हुने सम्भावना छैन,” सिटौलाले भने, “कांग्रेसको महाधिवेशन कहिल्यै पनि ठीक समयमा भएको छैन, चार वर्षमै गर्न सकिएको इतिहास छैन।”

सरकारको काम सन्तोषजनक नभए पनि हालको गठबन्धन भत्किने वा नयाँ सरकार बन्ने सम्भावना देखिनेस्थिति नरहेको उनको भनाइ थियो। उनले राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयक संविधानबमोजिम नै सुझावसहित प्रतिनिधि सभामा फिर्ता पठाएको पनि स्पष्ट पारे।