फिलिपिन्समा भीषण वर्षा, बाढी र पहिरोका कारण ३० जनाको मृत्यु

फिलिपिन्समा भीषण वर्षा, बाढी र पहिरोका कारण ३० जनाको मृत्यु

एजेन्सी: फिलिपिन्समा गत साता यता लगातार परेको भीषण वर्षाका कारण सिर्जित बाढी र पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको छ। अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने तीमध्ये १३ जनाको पहिचान भइसकेको छ। बाँकी मृतकको पहिचान प्रक्रिया जारी रहेको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी दिएको छ।

विपद्का कारण अझै सात जना बेपत्ता छन्। उनीहरूलाई आकस्मिक बाढीले बगाएको वा पहिरोले पुरिएको आशंका गरिएको छ। विभिन्न स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस प्राकृतिक विपद्मा परी १० जना घाइते भएका छन्। बाढी र पहिरोको असरबाट करिब १४ लाख ६० हजार परिवारका करिब ५३ लाख मानिस प्रत्यक्ष प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाको काम जारी छ।