सन् २०२४ मा २ लाखभन्दा बढीले भारतीय नागरिकता त्यागे

सन् २०२४ मा २ लाखभन्दा बढीले भारतीय नागरिकता त्यागे

नयाँदिल्ली : भारतको विदेश मन्त्रालयका अनुसार सन् २०२४ मा मात्रै २ लाख ६ हजार ३७८ जनाले भारतीय नागरिकता त्यागेका छन्। राज्यसभामा सोधिएको लिखित प्रश्नको जवाफमा विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।

उनका अनुसार, नागरिकता परित्याग गर्नेको संख्या अघिल्लो वर्ष २०२३ भन्दा केही घटे पनि यो अझै उच्च दरमा कायम छ। सन् २०२२ र २०२३ मा पनि करिब यस्तै संख्यामा भारतीयहरूले नागरिकता त्यागेका थिए।

नागरिकता परित्याग प्रक्रिया के हो?
सरकारले नागरिकता परित्याग गर्न चाहनेहरूका लागि स्पष्ट प्रक्रिया तय गरेको छ।

  • सर्वप्रथम इच्छुक व्यक्तिले आवेदन दिनुपर्छ।

  • त्यसपछि पासपोर्टलगायत अन्य कागजात प्रमाणीकरण गरिन्छ।

  • प्रमाणीकरणपश्चात ती कागजातहरू सम्बन्धित विभागमा पठाइन्छन्, जसको अन्तिम म्याद ३० दिनभित्रको हुन्छ।

  • आवश्यक जाँचपछि परित्याग प्रमाणपत्र अनलाइनमार्फत उपलब्ध गराइन्छ।

  • यो सम्पूर्ण प्रक्रिया करिब ६० दिनसम्म लाग्न सक्छ।

नागरिकता परित्यागपछि के के बुझाउनुपर्छ?
नागरिकता परित्याग गरेपछि व्यक्ति विशेषले आफ्नो भारतीय नागरिकता प्राप्त गरेको आधारमा भएका सबै कानुनी कागजात — जस्तै कि मतदाता परिचयपत्र, आधार कार्ड, ड्राइभिङ लाइसेन्स लगायत — सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था छ।

किन नागरिकता त्याग्दै छन् भारतीयहरू?
भारतका लाखौँ नागरिक विदेशमा दीर्घकालीन रूपमा बसोबास गर्छन्। उनीहरूमध्ये केहीले विदेशी नागरिकता लिँदा दोहोरो नागरिकता अनुमत नहुने कारणले भारतीय नागरिकता त्याग्नुपरेको हो। भारतले दोहोरो नागरिकता नदिने नीति अपनाएको छ।