रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन

रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन

फ्लोरिडा, अमेरिका । विश्वप्रसिद्ध रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ। उनको वास्तविक नाम टेरी जीन बोलिया हो। लामो पहेँलो कपाल र विशिष्ट जुँगाका लागि चिनिएका होगनको बिहीबार फ्लोरिडास्थित आफ्नै निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ।

होगनले सन् १९७७ मा व्यावसायिक रेसलिङ्ग यात्रा सुरु गरेका थिए। तर, सन् १९८३ मा विश्व रेसलिङ्ग फेडेरेसन (WWF) सँग सम्झौता गरेपछि उनी एकाएक विश्वव्यापी स्टार बने। WWF पछि वर्ल्ड रेसलिङ्ग इन्टरटेन्मेन्ट (WWE) बनेको हो, जसले होगनलाई सुपरस्टारको स्थान दिलायो।

उनले चार दशकभन्दा बढी समय विश्वभरका दर्शकमाझ आफ्नो प्रभाव जमाएका थिए। हालैका वर्षहरूमा उनले घाँटी र मुटुको शल्यक्रिया गराएका थिए।

राजनीतिक रूपमा पनि उनी सक्रिय देखिएका थिए। अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक होगनको निधनप्रति ट्रम्पले ट्रुथ सोसलमार्फत् श्रद्धाञ्जलि दिँदै भनेका छन्, “मैले आज एक असल साथी गुमाएँ।”

होगनको निधनले विश्वभर रहेका उनका लाखौं प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। WWE तथा रेसलिङ्ग समुदायमा उनको योगदान सदैव स्मरणीय रहनेछ।