

पेरिस । फ्रान्सले औपचारिक रूपमा प्यालेस्टाइनी राज्यलाई मान्यता दिने घोषणा गरेको छ। फ्रान्सेली राष्ट्रपति एमानुएल म्याक्रोनले आगामी सेप्टेम्बरमा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा सो घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।
राष्ट्रपति म्याक्रोनले गाजामा तत्काल राहत पुर्याउनुपर्ने र युद्धविराम अत्यावश्यक रहेको स्पष्ट पारेका छन्। साथै, उनले हमासको निःशस्त्रीकरणको सुनिश्चितता र इजरायलको शान्तिप्रति प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। म्याक्रोनले यस विषयमा प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बासलाई पत्रसमेत पठाइसकेको जनाइएको छ।
प्यालेस्टाइनी पक्षले फ्रान्सको निर्णयलाई सकारात्मक कदम भन्दै स्वागत गरेको छ। अब्बासका सहायक हुसेन खल सेखले म्याक्रोनको निर्णयले अन्तर्राष्ट्रिय कानुनी मूल्य र मान्यतालाई सम्मान गरेको प्रतिक्रिया दिएका छन्।
तर, इजरायलले भने यो निर्णयलाई हमासको आतंकलाई पुरस्कार दिने कार्यको रूपमा व्याख्या गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जालमा लेख्दै फ्रान्सको घोषणाको कडा आलोचना गरेका छन्।