त्रिभुवन विमानस्थल विस्तार अन्तिम चरणमा, नयाँ अन्तर्राष्ट्रिय टर्मिनलसहित पूर्वाधार निर्माण तीव्र

त्रिभुवन विमानस्थल विस्तार अन्तिम चरणमा, नयाँ अन्तर्राष्ट्रिय टर्मिनलसहित पूर्वाधार निर्माण तीव्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेको विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थलगत निरीक्षणपछि विमानस्थलको विस्तार करिब अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार पूर्वतर्फ र पश्चिमतर्फ नयाँ ट्याक्सी वे निर्माण भइरहेको छ, जसले रनवेको क्षमता २५ प्रतिशतले वृद्धि गर्नेछ। तर, विमानस्थल परिसरमै रहेको नेपाल आयल निगमको डिपो नहटाइए समानान्तर ट्याक्सी वे निर्माणमा अवरोध आउन सक्ने अधिकारीको भनाइ छ।

विस्तार योजना अन्तर्गत बुद्ध एयरको ह्यांगरको दक्षिणतर्फ दुईवटा नयाँ ह्यांगर र उत्तरतर्फ नेपाल एयरलाइन्सको एउटा नयाँ ह्यांगर निर्माण गरिनेछ। साथै, अहिलेको नेपाल एयरलाइन्सको ह्यांगर र नेपाली सेनाको भीभीआइपी टर्मिनललाई अन्यत्र सारेर सो स्थानमा सुविधासम्पन्न दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण गरिने योजना रहेको अधिकारीले बताए।

महानिर्देशक अधिकारीका अनुसार दोस्रो अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ठूलो लगानी आवश्यक पर्न जाने भएकाले यसबारेमा सरकारसँग थप छलफल आवश्यक छ। नयाँ टर्मिनल तयार भएपछि हालको अन्तर्राष्ट्रिय टर्मिनललाई आन्तरिक टर्मिनलमा रुपान्तरण गरिने योजना पनि रहेको छ।