दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज

दुर्घटनाग्रस्त अवस्थामा भेटियो रुसी यात्रुवाहक जहाज

मस्को । रुसको सुदूर पूर्वी साइबेरियामा ४९ जना सवार यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबैको मृत्यु भएको पुष्टि भएको छ ।

‘अंगारा’ एयरलाइन्सद्वारा सञ्चालित एन्टोनोभ एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा सम्पर्कविहीन भएको र पछि सो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको रूसी नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले जनाएको छ ।

विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । यद्यपि, मन्त्रालयले मृतकको संख्या करिब ४० हुन सक्ने प्रारम्भिक अनुमान पनि सार्वजनिक गरेको छ ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार उद्धारकर्मीहरूले विमानका टुक्रा अमुर क्षेत्रमा जलिरहेको अवस्थामा फेला पारेका छन् । रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) को हेलिकप्टरले घटनास्थल पहिचान गरेको हो ।

टास समाचार एजेन्सीका अनुसार कम भिजिबिलिटीका कारण मौसम खराब थियो, जसले अवतरणका क्रममा चालक दलबाट त्रुटि हुनसक्ने अनुमान गरिएको छ ।

रुसका आर्कटिक र सुदूर पूर्व क्षेत्रहरूमा मौसम प्रायः खराब हुने हुँदा हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा उड्डयन सुरक्षामा सुधार आए पनि पुराना विमानका कारण यस्ता दुर्घटनाहरू दोहोरिने गरेका छन् ।