सर्वमान्य नेता गणेशमान सिंहको सम्झना

सर्वमान्य नेता गणेशमान सिंहको सम्झना

काठमाडौं । २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवम् नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको आज स्मृति दिवस मनाईंदैछ । १९७२ सालमा जन्मिएका सिंहको २०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो ।

को हुन् गणेशमान सिंह
सर्वमान्य नेता गणेशमान सिंह नेपाली राजनीतिक क्षेत्रका लौह पुरुष हुन् । पिता ज्ञानमान सिंह र माता सुभद्राकुमारी सिंहका जेठा सुपुत्र गणेशमान सिंहको पारिवारिक नाम हिराकाजी हो। पिता ज्ञानमान र बाजे हिरामानको अल्पायुमै निधन भएकाले उहाँको पालनपोषण सरदार रत्नमान सिंहबाट भयो। सरदार रत्नमान सिंह राणाकालका प्रभावशाली भारदार भएकाले गणेशमान सिंहको बाल्यकाल र युवावस्था सम्पन्नतामा बितेकाले सुखद् रह्यो।

सिंहको प्रारम्भिक शिक्षा दरबार हाइस्कुलमा कक्षा ६ सम्म भएको थियो। राणाका छोराछोरीलाई आदर नगरेका कारण वि.सं. १९८४ मा स्कुलबाट उहाँ निष्काशित भएका थिए । उनले म्याटि्रक शिक्षा सन् १९३९ मा कोलकत्तामा र ईश्वरचन्द्र विद्यासागर कलेजमा विज्ञानमा आईएसम्मको अध्ययन गरेका थिए । उनले केही समय सरकारी सेवामा बहिदारको पदमा नोकरीसमेत गरे । सिंहको विवाह मंगलादेवी सिंहसँग वि.संं. १९९७ साल असारमा भएको थियो।

राजनीतिमा गणेशमान सिंह

१९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाको बिरोधमा सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।

वीपीसंग गणेशमान

वीपी कोइरालासँग मिलेर नेपाली कांग्रेसको स्थापना गरेका गणेशमान सिंह कांग्रेसले लिएका हरेक कदममा वीपीसँगै थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको ‘कु’सम्म उनीहरु सँगसँगै रहे ।

जेल तोडेर भारत प्रवासमा रहँदा होस् वा मेलमिलापको नीति लिएर २०३३ सालमा नेपाल फर्कदा या २०३७ सालको जनमत संग्रहमा सहभागि हुँदा मुद्दामाथि विमति रहँदा पनि वीपीसँग उनको साथ कहिल्यै टुटेन । त्यसैले त वीपी र गणेशमान प्रजातान्त्रिक आन्दोलनको पर्यायवाची शब्दझै बन्यो । २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाएका थिए ।

०४६ सालको ऐतिहासिक जनआन्दोलनको नेतृत्व गरेर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना र २०४७ को संविधान निर्माणपछि उनले सरकारको नेतृत्व गर्ने नेताहरुलाई आर्थिक क्रान्तिमा लाग्न बारम्बार घच्घचाएका थिए । त्यसो नगरेसम्म राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि प्रजातन्त्र स्थीर र स्थायी नहुने उनको धारणा थियो । तर सिंहका ती कालजयी विचार र सुझावलाई विपक्षीले त मानेनन् मानेनन् आफ्नै दल नेपाली कांग्रेसले पनि सम्मान गरेन । जसका कारण विरक्तिएर जीवनको उत्तरार्धतिर उनले आफैले स्थापना गरी हुर्काएको पार्टी परित्याग गरेको घोषणा गर्नुपरेको थियो ।