

काठमाडौं । नेकपा (एमाले)को दुईदिने केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ। ललितपुरस्थित पार्टी मुख्यालय च्यासलमा सम्पन्न बैठकले पार्टी विधान संशोधन, सदस्यता संरचना, संगठनात्मक सुधार, तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकासम्बन्धी विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा २६४ जना सदस्य सहभागी थिए। विधान संशोधनका विविध प्रस्तावहरूमाथि छलफल गरिएको र प्राप्त सुझावहरूलाई समेटेर प्रदेश तथा स्थानीय तहका कमिटीहरूमा पठाइने, अन्ततः विधान महाधिवेशनमार्फत टुंगो लगाइने उनले बताए।
बैठकले पार्टी सदस्यता अब दुई तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ—सामान्य सदस्यता र संगठित सदस्यता। यसअघि पनि यस्तै संरचना थियो, तर पछिल्लो समय हटाइएको सो व्यवस्था पुनः लागु गरिने भएको हो।
एमालेको संगठनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी २५१ सदस्यीय हुने, पोलिटब्युरो केन्द्रीय कमिटीको एक तिहाइ रहने, र पदाधिकारीको संख्या १५ मा सीमित गरिने प्रस्ताव अघि बढाइने छ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियताबारे पनि गम्भीर छलफल भएको गौतमले बताए। “राष्ट्राध्यक्षको गरिमा बोकेको व्यक्तित्वले दलगत राजनीतिमा सक्रिय हुनु उपयुक्त हुँदैन, यसले गलत नजिर बसाल्छ,” गौतमले बैठकको निष्कर्ष सुनाउँदै भने, “उहाँ गणतन्त्रको प्रतीक र राष्ट्रको साझा व्यक्तित्व हुनुहुन्छ। उहाँलाई दिइएको सम्मान कायम रहनुपर्छ।”
यस विषयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाले प्रारम्भिक रूपमा असहमति जनाए पनि अन्ततः सबैको सहमतिमा निष्कर्षमा पुगिएको गौतमले जानकारी दिए।
बैठकले ७० वर्ष उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि गरेको छ। गौतमका अनुसार, वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व प्रतिस्पर्धाबाट रोक्नेजस्तो देखिएको उक्त प्रावधान हटाइनेछ, जसले ओलीलगायत योग्य नेताहरूलाई खुला प्रतिस्पर्धा गर्ने अवसर सुनिश्चित गर्नेछ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सुदृढीकरण, आन्तरिक लोकतन्त्रको अभ्यास, र दीर्घकालीन रणनीतिक तयारीका लागि महत्वपूर्ण कदम अघि बढाएको छ।