

काठमाडौँ, २ असाेज । नेपाली काँग्रेसका संस्थापक नेता, वरिष्ठ राजनीतिज्ञ, प्रजातन्त्रका योद्धा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर, लौहपुरुष गणेशमान सिंहको २१ औँ स्मृति दिवस अाज विभिन्न कार्यक्रमका साथ मनाईँदैछ ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको स्मृतिमा मंगलबार नेपाली कांग्रेस र उसका विभिन्न संस्थासहितले विविध कार्यक्रम गर्दैछन् । सिंहको प्रतिमा रहेको काठमाडौँको शोभा भगवतीमा विशेष कार्यक्रम हुँदैछ ।
लौहपुरुष गणेशमान सिंहलाई प्रजातन्त्रका पितासमेत भन्ने गरिन्छ । तत्कालीन राजा स्व वीरेन्द्रले २०४६ साल पछाडिको अन्तरिम सरकारमा उहाँलाई प्रधानमन्त्री भइदिन आग्रह गर्नुभएको थियो । उहाँले आफूभन्दा पनि अर्का व्यक्ति अर्थात् सन्तनेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री पद दिलाएर सर्वसाधारणलाई त्यागको उदाहरण देखाउनुभएको थियो ।
प्रजातन्त्रका ढुकढुकीका रुपमा समाजले अहिले पनि सिंहलाई आदरपूर्वक लिने गर्छन् । खानदानी परिवारमा जन्मेर पनि जनताको दुःखको मुक्तिका लागि स्व सिँहले प्रजा परिषद्को सदस्यता लिएर राजनीतिमा होमिनुभएको थियो ।
विसं १९९७ मा स्थापना भएको नेपाल प्रजापरिषद् पहिलो राजनीतिक पार्टी हो । पार्टीको सदस्यता लिएपछि उहाँ राणाहरुको अत्याचारविरुद्ध लड्न तत्कालीन राणा हटाउ अभियान्ताका रुपमा राजनीतिमा आउनुभएको देखिन्छ ।
उहाँको जन्म १९७२ सालमा काठमाडौँमा भएको थियो । उहाँका समकक्षी पूर्व सांसद लेखनाथ न्यौपाने सिंह दलगत स्वार्थभन्दा देश र प्रजातन्त्र ठूलो हुन्छ भन्नुहुन्थ्यो ।
सिंह सत्य कुरामा कहिल्यै कसैसँग नडराउने र नझुक्ने निर्धक्कसँग बोल्ने निडर नेता हुनुहुन्थ्यो । लोकतन्त्रका अनुयायीले उहाँलाई यसैगरी आत्मसात् गरेको देखिन्छ ।
सिंहले साइकल चढेकामा तत्कालीन राणाहरु उहाँको इष्र्या गर्थे । उहाँलाई दुःख दिन्थे । उहाँको साइकल तोडफोड गरिदिन्थे र उहाँलाई कुटपिट पनि गर्थे । तर उहाँ राणासँग सम्झौता होइन लड्नुपर्छ, अन्याय सहने होइन, त्यसको विरुद्धमा लड्नुपर्छ भन्नुहुन्थ्यो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सिंह प्रतिबद्ध, अठोट भएको मुक्तियोद्धाका रुपमा उहाँलाई चिनेको बताउनुहुन्छ । राणाशासनको अत्याचारविरुद्ध बिद्रोहको ज्वारभाटालाई चिर्दै अगाडि बढेका लौहपुरुषलाई विलासिता र मोजमस्तीले कहिल्लै छोएन ।
जनताले राणाको अत्याचारविरुद्ध बोल्न नपाउने र जनताको छोराछोरीले पढ्न नहुने राणाको अत्याचारविरुद्ध धावा बोलेका सिंहले २०४६ सालमा वामपन्थी शक्तिलाई एकजुट गरी पञ्चायतविरुद्ध लड्दै मुलुकमा बहुदलीय प्रजातन्त्रको स्थापना गराई नयाँ संविधान दिलाउनुभएको थियो ।
“प्रजातन्त्र र राष्ट्रियता एक सिक्काका दुईपाटा हुन् ।” लौहपुरुष भाषणमा सधैँ भन्नुहुन्थ्यो । त्यसैले होला ! भद्रगोल जेल फोडेर भारत पुग्नुभयो । त्यहाँ उहाँले बिपी कोइरालासँग मिलेर नेपाली काँग्रेस पार्टीको २००३ सालमा स्थापना गर्न साथ दिनुभयो ।
प्रजातन्त्रका खातिर हरेक आरोह अवरोह, पटकपटकको जेल जीवन दुःख र हन्डरका बाबजुत उहाँको २०५४ असोज २ गते ८२ वर्षको उमेरमा निधन भयो ।
नेपाली काँग्रेसको झापा जिल्लाको कलबलगुढीमा सम्पन्न आठौँ महाधिवेशनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सिँहको मतभेद हुनपुग्यो । तत्पश्चात् उहाँले नेपाली काँग्रेस छोड्नुभयो । तर उहाँलाई नेपाली काँग्रेसले कहिल्यै छोडेन ।