

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औं महाधिवेशनमा सभापति पदको उम्मेदवारका लागि आफूले कसैलाई पनि समर्थन नगरेको स्पष्ट पारेका छन्।
बूढानीलकण्ठ निवासमा भेट्न गएका पाँचजना पूर्वपदाधिकारीसँगको छलफलमा देउवाले आफूले कुनै उम्मेदवारलाई ‘हरियो झण्डा (ग्रिन सिग्नल)’ नदिएको बताएका हुन्। भेटमा सहभागी नेताका अनुसार, नेताहरूको जिज्ञासामा देउवाले सो कुरा स्पष्ट गरेका हुन्। “
देउवालाई भेट्न पुगेका नेताहरूमा कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत थिए। विमलेन्द्र निधि र डा. शशांक कोइराला भने उपस्थित थिएनन्।
भेटमा सहभागी नेताहरूले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कामको मूल्यांकन गर्न सुझाव दिएका छन्।
कांग्रेसका सातजना पूर्वपदाधिकारीहरू १५औं महाधिवेशनलाई लक्षित गर्दै छुट्टै समीकरण बनाउने तयारीमा छन्। यसै सिलसिलामा सोमबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा पूर्वपदाधिकारीहरूको छुट्टै बैठक बसेको थियो।
सिंह निवासको छलफलको निष्कर्ष अनुसार, कांग्रेस–एमाले सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराउने उद्देश्यले नेताहरू बूढानीलकण्ठ पुगेका थिए।