म एमालेको सक्रिय राजनीतिमा फर्किइसकेको छु, पछि हट्दिन : विद्या भण्डारी

म एमालेको सक्रिय राजनीतिमा फर्किइसकेको छु, पछि हट्दिन : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा पूर्ण रूपमा फर्किइसकेको स्पष्ट पार्दै अब कुनै हालतमा पछि नहट्ने घोषणा गरेकी छन्।

आफ्नै निवास भंगालमा पत्रकारहरूसँगको कुराकानीमा, उनले पार्टीभित्र नेतृत्वका विषयमा महाधिवेशन नहुँदै बहस चलाएर कार्यकर्तालाई विभाजनमा धकेल्ने प्रयास भइरहेको आरोप लगाइन्।

“म पछि हट्दिनँ। कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने काम अब रोकिनुपर्छ,” भण्डारीले भनिन्, “जिल्ला र प्रदेश तहदेखि नै ग्रुप बनाएर कार्यकर्तामाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको छ।”

म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ

पूर्वराष्ट्रपति भण्डारीले एमाले नेतृत्वको प्रतिस्पर्धा छाड्ने मनस्थितिमा नरहेको प्रस्ट पार्दै आफू पार्टीभित्र नेतृत्वको दावेदार नै रहने बताइन्। “म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,” उनले दृढ स्वरमा भनिन्।

पार्टीभित्र चर्किंदो ध्रुवीकरण

एमालेको हालै जारी केन्द्रीय कमिटीको बैठकमा भण्डारीको राजनीतिमा पुनः सक्रिय सहभागितालाई लिएर विवाद चुलिएको छ। केही नेताहरू भण्डारीको कदमको समर्थनमा उभिए पनि, अर्काे पक्षले भने असन्तुष्टि जनाइरहेको छ।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि दावेदार बन्ने घोषणा गरेपछि भण्डारीप्रति समर्थन र विरोध दुवै पक्ष सक्रिय भइरहेका छन्। अर्काेतर्फ, पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने भण्डारीलाई एमालेमा पुनः फर्कन दिन नहुने स्पष्ट संकेत गरिसकेका छन्।

 १४ असारको निर्णायक घोषणा

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते पार्टीमा सक्रिय रूपमा फर्किएको घोषणा गरेकी थिइन्। त्यसयता एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण र तनावको अवस्था देखिन थालेको छ।