गाजा संकट: युएन कर्मचारी भोककै पीडामा, खाद्य मूल्य ४० गुणा बढ्यो

गाजा संकट: युएन कर्मचारी भोककै पीडामा, खाद्य मूल्य ४० गुणा बढ्यो

काठमाडौं । गाजामा कार्यरत संयुक्त राष्ट्रसंघको निकाय युएनआरडब्ल्यूए (UNRWA) का केही कर्मचारी स्वयं भोकको कठोर पीडामा परेका छन्। गाजाको भयानक खाद्य संकटबारे मार्मिक सन्देशहरू प्राप्त भइरहेको समाचार संस्था एएफपीले जनाएको छ।

संस्थाका अनुसार गाजाको झन्डै २ करोड जनसंख्या गम्भीर खाद्य अभावको चपेटामा परेको छ। डाक्टर, नागरिक सुरक्षा निकाय र विभिन्न अन्तर्राष्ट्रिय मानवसेवा संस्थाहरूले कुपोषणका घटना तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन्।

खाद्य संकटको त्रासदी

गाजामा अत्यावश्यक वस्तुको चरम अभावका कारण खाद्यान्नको मूल्य ४० गुणासम्म बढेको बताइएको छ। सहायतासम्बन्धी निकायहरूले यो अवस्था पूर्ण रूपमा मानव निर्मित भएको भन्दै तत्काल रोक्न आग्रह गरेका छन्।

गत चैत १९ गते युद्धविरामका लागि भएको वार्ता असफल भएपछि इजरायलले गाजामा पूर्ण नाकाबन्दी लागू गरेको थियो। त्यसयता करिब दुई महिनासम्म कुनै राहत सामग्री प्रवेश गर्न दिइएन। वैशाखको अन्त्यतिर मात्र केही सीमित गाडीहरूलाई गाजा छिर्न अनुमति दिइएको थियो।

बाल मृत्युदर भयावह

गाजाको नागरिक सुरक्षा निकायका अनुसार पछिल्लो हप्तामा गम्भीर भोकमरी र कुपोषणका कारण तीन नवजात शिशुको मृत्यु भइसकेको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारदेखि आइतवारसम्मको २४ घण्टामा मात्रै भोककै कारण १८ जनाको मृत्यु भएको छ।

गाजाको मानवीय अवस्था अहिले गम्भीर मोडमा पुगेको छ। अन्तर्राष्ट्रिय समुदाय र मानवीय संस्थाहरूले तत्काल हस्तक्षेप नगरे गाजामा भोककै कारण झन् ठूलो मानव संकट निम्तिन सक्ने चेतावनी दिएका छन्।