बेलायतसहित २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा

बेलायतसहित २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा

लन्डन : बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादतीबारे गम्भीर चिन्ता व्यक्त गर्दै ती देशहरूले इजरायली कारबाहीको निन्दा गरेका हुन्।

सार्वजनिक संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोक्नाका साथै नागरिकहरूको ज्यान लिएको आरोप लगाइएको छ। गाजामा बढ्दो मानवीय संकटप्रति तीव्र आलोचना गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको विवरणमा गत एक साताभित्र इजरायली आक्रमणबाट १०९ जना मारिएको उल्लेख गरिएको छ। कुपोषणका कारण थप १९ जनाको मृत्यु भएको पनि जानकारी दिइएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने मुलुकहरूमा बेलायत, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड र स्वीजरल्यान्डलगायत रहेका छन्। उनीहरूले गाजामा पानी र खाद्यान्नको अभाव अत्यधिक बढेको र राहत पर्खिरहेका अवस्थामा करिब ८ सय जना प्यालेस्टाइनी मारिएको उल्लेख गरेका छन्।

मे महिनादेखि इजरायलले गाजामा लागू गरेको ११ हप्ते खाद्यान्न नाकाबन्दी आंशिक रूपमा हटाएको भए पनि मानवीय संकट यथावत् रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।