

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वपदाधिकारीबीच सोमबार दिउँसो चाक्सीबारीमा छलफल भएको छ। पार्टीको १५औं महाधिवेशनलाई केन्द्रमा राखेर भइरहेका शृंखलाबद्ध छलफल अन्तर्गत आज नेता प्रकाशमान सिंहको निवासमा बैठक बसेको हो।
दिउँसो २ बजेका लागि तय गरिएको छलफल सवा ३ बजेतिर सुरु भएको थियो। छलफलमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत सहभागी भएका छन्।
यी नेताहरूले आलोपालो एक–अर्काको निवासमा बैठक गर्दै महाधिवेशनको तयारी र नेतृत्व चयनबारे विचार–विमर्श गर्दै आएका छन्।
छलफलमा सहभागी सबैजना सभापति शेरबहादुर देउवाको समूहसँग नजिक छन्। तर पार्टीको विधानअनुसार देउवाले तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नपाउने भएपछि अबको नेतृत्वको दाबी कसले गर्ने भन्ने विषयमा व्यापक चासो देखिएको छ।
गत फागुन २ गते यी नेतासहित ११ जनाको समूह देउवा निवास बूढानीलकण्ठ पुगेर सभापतिको उम्मेदवार चाँडै तय गर्न आग्रह गरिसकेका छन्।
त्यसयता उनीहरू निरन्तर छलफलमा जुटिरहेका छन्। आजको छलफलमा पार्टीभित्रको शक्ति सन्तुलन, देउवाको मौनता, सम्भावित नेतृत्व, र समसामयिक राष्ट्रिय राजनीतिक घटनाक्रमको पनि समीक्षा गरिएको स्रोतले बताएको छ।