देशभर ७२ प्रतिशत धान रोपाइँ, मधेशमा ४६ प्रतिशत मात्र

देशभर ७२ प्रतिशत धान रोपाइँ, मधेशमा ४६ प्रतिशत मात्र

काठमाडौं । साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागका अनुसार गत वर्ष सोही अवधिमा ८४.६ प्रतिशत रोपाइँ भइसकेको थियो।

सामान्यतया जेठको अन्त्यदेखि धान रोपाइँ सुरु हुने गरे पनि यसवर्ष पर्याप्त वर्षा नहुनु र सिँचाइ अभावका कारण रोपाइँमा ढिलाइ भएको देखिएको छ।

सबैभन्दा बढी धान खेती हुने मधेश प्रदेशमा हालसम्म मात्र ४६ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ। विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर खेतीयोग्य जमिनमध्ये १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्रै रोपाइँ भएको छ।

अन्य प्रदेशहरूको रोपाइँ स्थिति यस प्रकार छः

  • लुम्बिनी प्रदेश:
    ३ लाख २ हजार ९३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३६९ हेक्टरमा रोपाइँ (अन्दाजी ८७.९३%)

  • कोशी प्रदेश:
    २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा रोपाइँ (६१.७९%)

  • बाग्मती प्रदेश:
    १ लाख २० हजार ५४५ हेक्टरमध्ये १ लाख ५ हजार १०३ हेक्टरमा रोपाइँ (८७.१९%)

  • गण्डकी प्रदेश:
    ९४ हजार १८२ हेक्टरमध्ये ७४ हजार ६६४ हेक्टरमा रोपाइँ (७९.२८%)

  • कर्णाली प्रदेश:
    ४० हजार ८८४ हेक्टरमध्ये ३५ हजार ९४८ हेक्टरमा रोपाइँ (८७.९३%)

मुख्य कारणः सिँचाइ र वर्षाको अभाव

विशेषगरी मधेश र कोशी प्रदेशमा वर्षाको असमान वितरण र सिँचाइको अभावका कारण रोपाइँ ढिलो भएको कृषि विभागले जनाएको छ। विभागले समयमै वर्षा र सिँचाइ सुविधा उपलब्ध भए बाँकी क्षेत्रहरूमा रोपाइँ प्रक्रिया तिव्र हुने अपेक्षा राखेको छ।