हिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले दिए राजीनामा

हिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। केही दिनअघि उनले इमेलमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा) मा राजीनामा बुझाएका हुन्।

एएफसी महिला एसियन कप छनोटको क्रममा उज्बेकिस्तानमा भएको विवादसँगै उत्पन्न तनावपूर्ण परिस्थितिपछि वाइल्डले राजीनाको निर्णय लिएको एन्फा स्रोतले जनाएको छ। प्रतियोगितापछि एन्फाले उज्बेकिस्तानमा घटेको घटनाक्रमबारे स्पष्टिकरण माग्दै वाइल्डलाई पत्र पठाएको थियो। सोही पत्रको जवाफमा उनले राजीनामा पठाएका हुन्।

हाल एन्फा अध्यक्ष पंकज नेम्वाङ विदेशमा रहेकाले वाइल्डको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको छैन।

एसियन कप छनोटका बेला कप्तान चयनलाई लिएर वाइल्ड र टिम व्यवस्थापनबीच विवाद चुलिएको थियो। वाइल्डले एक अन्तर्वार्तामा एन्फा व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै “एन्फा नसुध्रिए म नेपाल नफर्कने” बताएका थिए र प्रतियोगिता सकिएपछि उनी स्वदेश बेल्जियम फर्किएका थिए।

यता नेपाली टोली स्वदेश फर्किएपछि टिम म्यानेजर, सहायक प्रशिक्षक र हेड अफ डेलिगेट्सले संयुक्त पत्रकार सम्मेलन गरी वाइल्डलाई नै कप्तान चयनलगायत विवादका लागि जिम्मेवार ठहर गरेका थिए।

एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसमाथि सहज जित निकाल्दै प्रभावशाली प्रदर्शन गरे पनि उज्बेकिस्तानसँग ३–३ को बराबरी खेलेपछि टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

अब वाइल्डको राजीनामापछि एन्फाको प्राथमिक कार्यसूचीमा नयाँ मुख्य प्रशिक्षक नियुक्ति रहनेछ।