खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो भेटवार्ता

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाबीच शुक्रबार बिहान दुई घण्टा लामो गोप्य भेटवार्ता भएको छ।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा पछिल्लो राजनीतिक अवस्था, सत्ता समीकरण, पार्टीहरूबीचको शक्ति सन्तुलन र आगामी रणनीतिलगायतका विषयमा व्यापक कुराकानी भएको स्रोतले जनाएको छ।

शेखर कोइरालाका नजिकका एक नेताका अनुसार, “पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको हो। करिब दुई घण्टा कुराकानी भयो।”

डा. कोइराला हाल एमालेसँगको सत्ता साझेदारीप्रति असन्तुष्ट देखिँदै आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रणाली र कार्यशैलीप्रति निरन्तर आलोचनात्मक अभिव्यक्ति दिँदै आएका बेला प्रचण्डसँगको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसभित्रको बढ्दो असन्तोष, नेताहरूबीचको आन्तरिक ध्रुवीकरण र विपक्षी गठबन्धनको सम्भावित पुनर्संरचनासँग यो भेटवार्ता जोडिएको हुनसक्छ।