मन्त्री अधिकारीको अडिओ विवादमा प्रष्टोक्ति – स्वार्थ समूहले चरित्र हत्या गर्न खोज्यो, आवाज मेरो होइन

मन्त्री अधिकारीको अडिओ विवादमा प्रष्टोक्ति – स्वार्थ समूहले चरित्र हत्या गर्न खोज्यो, आवाज मेरो होइन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफूविरुद्ध स्वार्थ समूहले नियोजित रूपमा चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।

मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ लाख घुस लिएको भनिएको अडिओबारे प्रष्टोक्ति दिएका हुन्। “त्यो अडिओमा आएको भाषा र बोल्ने व्यक्ति म होइन,” मन्त्री अधिकारीले भने, “मेरो नाम र परिवारलाई मुछेर गलत प्रचार गरिँदैछ। यो नियोजित षड्यन्त्र हो।”

उनले स्वार्थ समूहले आफ्नो योजना पूरा गर्न नसकेपछि यस्तो दुष्प्रचार गरेको दाबी गरे। “फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु” “मेरो आवाज, मैले मागेको वा भनेको कुरा फेला पार्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु,” मन्त्री अधिकारीले चेतावनीस्वरूप भने।

उनले सञ्चारकर्मीहरूप्रति आग्रह गर्दै भने, “तपाईंहरूले लेख्नुहुन्छ, राम्रो हो, तर तथ्यमा आधारित भएर लेख्नुस्। मलाई सोधेर लेख्नुस्।”

पोखराको एक विवादास्पद जग्गा प्रकरणसँग जोडिएको अडिओ सार्वजनिक भएपछि मन्त्री अधिकारी विवादमा तानिएका थिए। तर उनले आफू र मन्त्रालयसँग त्यसको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्।