देश जटिल मोडमा छ, सरकार भ्रष्टाचारमै लिप्त छ : प्रचण्ड

देश जटिल मोडमा छ, सरकार भ्रष्टाचारमै लिप्त छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले अत्यन्त जटिल मोडमा पुगेको बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित ‘श्रम उत्पादनमा वाइसिएल अभियान’को शुभारम्भ कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारप्रति कडा आलोचना गरे। उनले सरकारको हरेक कदम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै भने, “सरकार जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही छैन। सुशासन विरोधी यो सरकार देशलाई असफलतातर्फ लैजाँदैछ।”

उनले श्रम र उत्पादनसँग जोडिएर सामाजिक न्याय र समृद्धिको पक्षमा जुट्न सबैलाई आग्रह गरे। “हामीले जनतासँगको सम्बन्ध बलियो बनाउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान चलाउनुपर्छ,” उनले भने।

अध्यक्ष प्रचण्डले परिवर्तन उल्ट्याउने शक्ति विरुद्ध युवालाई संगठित गर्नुपर्नेमा जोड दिए। साथै, सरकार भ्रष्टाचारमै अडिग रहिरहे सडकबाट प्रतिवाद गर्न आफूहरू तयार रहेको चेतावनीसमेत दिए।