सावित्रा भण्डारी अस्ट्रेलियाको निन्जा ए–लिग क्लब वेलिङटन फोनिक्समा आबद्ध

सावित्रा भण्डारी अस्ट्रेलियाको निन्जा ए–लिग क्लब वेलिङटन फोनिक्समा आबद्ध

काठमाडौं । नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन्। उनले आगामी दुई सिजनका लागि न्युजिल्यान्डस्थित वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्।

वेलिङटन क्लबले सावित्रालाई अनुबन्ध गर्नु टोलीका लागि महत्वपूर्ण कदम भएको जनाएको छ। क्लबले जारी गरेको विज्ञप्तिमा सावित्रालाई क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता भनी प्रशंसा गर्दै उनको आगमनले टोलीको आक्रमण क्षमता बलियो हुने उल्लेख गरिएको छ।

हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटमा सावित्राले दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गर्दै आफ्नो प्रभाव जमाएकी थिइन्। त्यसअघि भारतको महिला सुपर लिगमा उनले २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्।

सावित्रा युरोपको फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा आबद्ध भई शीर्ष लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्। आजै उनले गुइनगाम्पसँगको दुई वर्षे सहयात्रा सकिएको घोषणा गर्दै क्लबलाई धन्यवाद दिएकी छिन्।

फोनिक्सका कार्यवाहक प्रमुख प्रशिक्षक एमी शेफर्डले सावित्राको अनुभव, नेतृत्व र आक्रमण क्षमताले टोलीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन्। उनले भनिन्, “हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं। फ्रान्समा उनले जुन स्तरको प्रदर्शन गरिन्, त्यसले उनको क्षमताको पुष्टि गर्छ।”

सावित्राले पनि क्लबमा आबद्ध हुन पाएकोमा उत्साह व्यक्त गर्दै भनिन्, “वेलिङटन फोनिक्समा आउन पाउँदा निकै उत्साहित छु। म धेरै गोल गर्दै समर्थकलाई खुशी बनाउने लक्ष्य राखेकी छु। जब मैले क्लबको आगामी सिजनका लक्ष्यबारे थाहा पाएँ, निर्णय गर्नु सजिलो भयो।”

सावित्राको यो कदमले नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने अपेक्षा गरिएको छ।