टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु

टी–२० विश्वकप छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु

काठमाडौं । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्रीय छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प सुरु भएको छ। बिहीबारदेखि सुरु भएको क्याम्पमा ३२ खेलाडी सहभागी छन्।

क्लोज क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमको पुनरागमन भएको छ, जसले नेपाली टोलीमा विविधता र अनुभव थप्ने अपेक्षा गरिएको छ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने क्षेत्रीय छनोट प्रतियोगिता खेल्नेछ। समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा जम्मा ९ टोली सहभागी हुनेछन्।

छनोट चरणपछि सुपर सिक्स चरण हुनेछ, जसको अन्त्यमा शीर्ष ३ टोलीले सन् २०२६ को टी–२० विश्वकपका लागि स्थान सुरक्षित गर्नेछन्।

यस महत्वपूर्ण छनोट प्रतियोगिताअघि नेपालले विभिन्न अन्तर्राष्ट्रिय अभ्यास खेल खेल्ने योजना बनाएको छ, जसले टोलीको तयारीमा थप सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।