

गुल्मी । गुल्मी जिल्लाको प्रमुख धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्य रेसुङ्गामा साउन १ गतेदेखि एक महिनासम्म चल्ने साउने मेला सुरु भएको छ। सदरमुकाम तम्घासको अग्लो डाँडामा अवस्थित रेसुङ्गामा प्रत्येक वर्ष झैं यसपटक पनि मन्दिर व्यवस्थापन समितिको संयोजनमा मेला सुरु गरिएको हो।
मेलाको पहिलो दिनदेखि नै बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको रेसुङ्गा संरक्षण समितिका महासचिव यज्ञप्रसाद पन्थीले जानकारी दिए। एक महिनासम्म चल्ने मेलामा दैनिक पूजा, धार्मिक प्रवचन तथा विशेष तिथिहरूमा विशेष कार्यक्रम हुनेछन्।
रेसुङ्गाको धार्मिक मान्यताअनुसार यहाँको पोखरीमा स्नान गरेमा पाप नाश हुने विश्वास गरिन्छ। विशेषगरी साउन १ गते, साउने औंसी र एकादशीका दिन यहाँ विशेष मेला लाग्ने गर्दछ। भक्तजन गुल्मीका विभिन्न स्थानहरूका साथै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, वाग्लुङ, प्यूठान, रुपन्देही लगायतबाट आउँछन्।
धार्मिक महत्वका साथै रेसुङ्गा पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। यहाँबाट धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखलाका दृश्यहरू अवलोकन गर्न सकिन्छ। शान्त, एकान्त, शीतल र हरियाली वातावरणले रेसुङ्गालाई अझै आकर्षक बनाएको छ। यहाँ निर्मित भ्यूटावरबाट आसपासका रमणीय दृश्य अवलोकन गर्न सकिन्छ भने हालै निर्माण गरिएको आकर्षक सिँढीले पैदलयात्रा अझ सहज र रमाइलो बनाएको छ।
रेसुङ्गा केवल धार्मिक स्थल नभई पौराणिक र ऐतिहासिक दृष्टिले पनि उच्च महत्व बोकेको क्षेत्र हो। द्वापरयुगदेखि त्रेतायुगसम्मको कथासँग जोडिएको रेसुङ्गा ऋषि श्रृंग, यदुकानन्द र रामचन्द्र जस्ता महर्षिहरुको तपोभूमि मानिन्छ। वेद र पुराणहरूमा उल्लेख भएअनुसार राजा दशरथले सन्तान प्राप्तिका लागि यहीँ तपश्वी ऋष्यश्रृङ्गमार्फत पुत्रेष्टि यज्ञ गराएका थिए, जसको फलस्वरूप राम, लक्ष्मण, भरत र शत्रुघ्न जन्मिएका थिए।
रेसुङ्गा क्षेत्र प्राकृतिक सम्पदाले पनि भरिपूर्ण छ। यहाँ २५८ प्रजातिका चराहरू तथा चितुवा, मृग, घोरल, खरायो लगायतका वन्यजन्तु पाइन्छन्। साथै, यहाँका वनक्षेत्र, आश्रम, मठमन्दिर, पँधेरा, कुण्ड, यज्ञशाला र भग्नावशेषहरूले यस क्षेत्रलाई थप ऐतिहासिक र पुरातात्त्विक बनाएका छन्।
शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनको समेत राम्रो सम्भावना रहेको रेसुङ्गामा पूर्वाधार विकास, संरक्षण र प्रचार–प्रसारका कामहरू जारी छन्। यसैक्रममा, रेसुङ्गा नगरपालिकाले यस वर्ष ‘जाउँ हिंड रेसुङ्गा’ अभियान सञ्चालन गरेको छ, जसअन्तर्गत एक लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ।
रेसुङ्गा साउने मेला र यस क्षेत्रको धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदाले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने सम्भावना रहेको छ।