नेपाल इभी युगमा प्रवेश गरिसक्यो : मन्त्री दाहाल

नेपाल इभी युगमा प्रवेश गरिसक्यो : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालले विद्युतीय सवारी (इभी) युगमा औपचारिक प्रवेश गरिसकेको बताएका छन् ।

महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले अब देशले दिगो, सुरक्षित र वातावरणमैत्री यातायातको यात्रा सुरु गरिसकेको भन्दै, “अब यो यात्रालाई कसैले रोक्न सक्दैन,” स्पष्ट पारे ।

मन्त्री दाहालले नेपाल अझै पनि पूर्वाधारको हिसाबले पछाडि भए पनि केही वर्षयता उल्लेख्य प्रगति भइरहेको बताए । उनका अनुसार, “पूर्वदेखि पश्चिमसम्म फैलिएका राजमार्गहरू र उत्तर–दक्षिण करिडोरहरू रहर लाग्दो ढंगले निर्माण भइरहेका छन् । यी करिडोरहरूलाई हामी त्रिदेशीय कनेक्टिभिटी को रूपमा विकास गर्दैछौं, जसले भारत, नेपाल र चीन जोड्नेछ ।”

उनले नेपालले अन्तर्राष्ट्रिय यातायात सञ्जालमा जोडिन सक्ने क्षमताका माध्यमबाट भविष्यमा ठूलो लाभ उठाउन सक्ने उल्लेख गरे ।

संघीयता कार्यान्वयनपछि संघ, प्रदेश र स्थानीय तहबीचको भूमिका स्पष्ट नभएको दाहालको टिप्पणी थियो । “संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन्,” उनले भने, “यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको छ ।”

यातायातका विभिन्न समस्याका विषयमा यातायात व्यवसायीहरूसँग छलफल गर्न तयार रहेको भन्दै मन्त्री दाहालले सहकार्यको वातावरण बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।