

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूलाई तीव्र व्यंग्यसहित आलोचना गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै, उनले आफू एक्लैले रास्वपाका २० सांसदभन्दा बढी कल्याणकारी कार्यहरूमा संलग्न भएको दाबी गरे।
बजगाईंले भने, “इंगित गरेरै भन्छु — नयाँ मित्रहरू, म पनि नयाँ प्रतिनिधि हो तर पुरानो पार्टीको हुँ। तपाईहरू २० जनाभन्दा म एक्लै ठूलो कल्याणकारी काममा तल्लिन छु।”
उनले रास्वपाको नयाँपन र क्रान्तिकारी दाबीलाई खोक्रो प्रचार भन्दै टिप्पणी गरे।
सांसद बजगाईंले रास्वपालाई लक्षित गर्दै हिन्दू धर्मग्रन्थ महाभारत को प्रसंग जोड्दै कटाक्ष गरे: “तपाईंका भगवान धृतराष्ट्र हुन् कि जैविक पिता प्रमाधिपति हुन् — त्यो तपाईंहरू नै जान्नुहोस्। तर यो देश हस्तिनापुर भने होइन।”
उनको अभिव्यक्तिले रास्वपाको नेतृत्त्वप्रति गम्भीर शंका र अविश्वास प्रकट गरेको देखिन्छ।
बजगाईंले सहकारी ठगी प्रकरणमा रास्वपा अध्यक्ष रवि लामिछाने जेलमा रहेका बेला पनि उनको अध्यक्षता कायमै रहेको विषयमा आपत्ति जनाए। उनले भने, “सुधारको कुरा गर्ने पार्टीले यस्तो आधारभूत जवाफदेहिता वेवास्ता गर्नु दुःखद हो।”
रास्वपाको देश विकासबारे धारणा अपारदर्शी रहेको बताउँदै उनले आरोप लगाए, “तपाईंहरू सत्तामा पुगेपछि आफ्ना नातेदार थुनिएको भन्दै षड्यन्त्र देखाउँदै हुनुहुन्छ। अहिलेसम्म कुनै स्पष्ट योजना हामीले देखेका छैनौँ।”
उनले रास्वपाले वास्तविक बहसको सट्टा प्रोपगान्डामा ध्यान केन्द्रित गरेको आरोप लगाए। बजगाईंले रास्वपाले प्रयोग गर्दै आएको “२०८४ मा देखाउँछौं” भन्ने वाक्यलाई प्रतिशोधात्मक र अतिवादी प्रवृत्तिको संकेत बताए।
सांसद बजगाईंले देशको समस्या बदलाको नभई दिशा र दृष्टिकोणको अभाव भएको उल्लेख गर्दै, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्यमान्यताबाट सिक्न रास्वपालाई सुझाव दिए।