

काठमाडौँ । बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ।
अध्यक्ष शरद ओझामाथि छानबिनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्। त्यसपछि अध्यक्ष पद रिक्त रहँदा अर्को व्यवस्था नहुँदासम्मका लागि पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
अर्थ मन्त्रालयका अनुसार, सोमबार साँझ मन्त्रिपरिषद् बैठकपछि अर्थमन्त्रीले उक्त निर्णय गरेका हुन्। पोखरेल हाल वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुखका रूपमा कार्यरत छन्, जुन महाशाखाले बीमा प्राधिकरणसँग प्रत्यक्ष समन्वय गर्दै आएको छ।
यसअघि पनि अध्यक्ष पद रिक्त हुँदा अर्थमन्त्रीको सिफारिसमा कार्यवाहक व्यवस्था गर्दै आएको परिपाटीलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।