

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पेश भएको संघीय निजामती सेवा विधेयक मङ्गलवारको राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिने भएको छ।
मङ्गलवार दिउँसो सवा १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठकको कार्यसूचीको दोस्रो नम्बरमा संघीय निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राखिएको छ।
यो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो, तर घुस लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले मङ्गलवार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाइसकेका छन्।
मन्त्री गुप्ताको राजीनामा पछि संघीय निजामती सेवा विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रस्तुत गर्ने भएका छन्।
विधेयकमाथि सैद्धान्तिक छलफलमा सांसद आनन्दप्रसाद ढुंगाना, जगप्रसाद शर्मा, जयन्तीदेवी राई, मोहम्मद खालिद, शेखरकुमार सिंह, दुर्गा गुरुङ, राजेन्द्रलक्ष्मी गैरे, राधेश्याम पाश्वान र सोनाम गेल्जेन शेर्पाले भाग लिन नाम दर्ता गराएका छन्।
यो छलफल करिब डेढ घण्टा चल्ने कार्यसूची रहेको छ।