रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन्। दुवै दलले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन नबनेको विरोध गर्दै बैठकबाट बाहिरिएका हुन्।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराउँदा सांसदहरूले विरोध स्वरूप उठेका थिए। त्यसपछि सभामुखले रास्वपा सांसद शिव नेपालीलाई बोलाएर आफ्नो माग राख्न अनुमति दिए। नेपालीले समिति नबनेको कारण बैठक बहिष्कार गर्ने र विरोध जारी राख्ने बताए।

त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको थियो। शाहीले पनि समिति गठन नभएको भन्दै दुवै दलको विरोध जारी रहने बताए।

यसपछि दुवै पार्टीका सांसदहरूले संसद बैठक कक्ष छोडेका छन्।