

काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहँदा अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदलीको स्थिति देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै पहाडी भेगका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा वर्षासँगै हिमपात पनि हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थानहरूमा र अन्य भागका थोरै स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।