बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन, स्वतः निलम्बनमा

बीमा प्राधिकरण अध्यक्ष शरद ओझामाथि छानबिन, स्वतः निलम्बनमा

काठमाडौं : सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन्।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि नक्कली कागजात प्रयोग गरी नियुक्ति लिएको आरोपमा छानबिन गर्न समिति बनाएको हो। छानबिन सुरु भएसँगै ओझा स्वतः निलम्बनमा परेका छन्।

सरकारले गत फागुन १२ गते शरद ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। पूर्वपत्रकारसमेत रहेका उनी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलालाई पछि पार्दै नियुक्त भएका थिए।

मन्त्रिपरिषद्को निर्णय अनुसार, अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरिएको हो। बीमा ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ अनुसार, खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी नपु¥याएमा सरकारबाट अध्यक्ष वा सदस्य पदमुक्त गर्न सकिने व्यवस्था छ।